जानकी मेडिकल कलेज आम्दानीले रिर्सोट खोल्दै, दसैं–दीपावलीमा पनि कर्मचारीले पाएनन् तलब

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवाडीमा करिब दुई दशकदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी फेरि समस्यामा पर्न थालेका छन् । सञ्चालक ओपी पाण्डे आफ्नै स्वार्थ पूर्तिमा लागेपछि त्यहाँ कार्यरत कर्मचारीहरु बिचल्लीमा परेका छन् ।

नेपालीको मुख्य चाड दसैं वितेर लक्ष्मी पूजामा पनि कर्मचारीहरुले तलब पाएका छैनन् । केहीलाई पहुँचको आधारमा दसैंको बेला पछिल्लो असारकै बक्यौता तलब दिइएपनि अन्यले विगत तीन–चार महिनादेखि तलब नपाएको कलेजमा कार्यरत एकजना कर्मचारीले नाम नखुलाउने शर्तमा बताए । उनले आफुहरुको दसैं तिहार खल्लो भएको दुखेसो पोखे । आफूले काम गरेको तलब भत्ताको लागि पनि विरोध गर्न नसक्ने अवस्था कलेजमा रहेको उनको गुनासो छ ।

बिज्ञापन

उनका अनुसार तलब भत्ताको लागि ताकेता गरे वा बाहिर बोले जागिर चट्ट हुने अवस्था कलेजमा रहेको छ । कलेजमा कार्यरत कर्मचारीहरु यतिसम्मको श्रमशोषणमा रहेपनि सम्बन्धित निकाय मौन रहेको उनले गुनासो गरे । तलब माग्दा व्यवस्थापन पक्षले कर्मचारीहरुलाई यहाँ काम नगर्नुस्, तपाईं अरु ठाउँ राम्रो काम पाईहाल्नुहुन्छ, यहाँ काम छोडिदिनुस् लगायतका कुराहरु भन्ने गरेको ती कर्मचारीको भनाइ छ ।

कलेजमा कार्यरत स्थायी कर्मचारीहरुसँग यस्तो किसिमको व्यवहार हुने गरेको बुझिएको छ । यस्तै ती कर्मचारीहरुको संचयकोष पनि लामो समयदेखि रोकिएको बुझिएको छ ।

यतिमात्रै होईन जागिर छोड्दा पनि काम गरेको बाँकी तलब नपाएको पूर्व कर्मचारी मेडिकल रेकर्डर पाँचौं तहमा कार्यरत रामहृदय यादव बताउँछन् । उनका अनुसार कलेजले स्टेटमेन्ट दिइरहेको छैन् । काम गरेको हिसाबकिताब दिन आनाकानी गरिरहेको छ । सञ्चयकोष वापतको रकम पनि भुक्तानी नदिएको उनको दुखेसो छ ।

मेरो मात्रै होईन त्यहाँ जागिर छोडेका कतिको बाँकी नदिएको उनको भनाइ छ । कलेजमा करिब दुई सय जना विभिन्न पदका कर्मचारी कार्यरत छन् ।

यता कलेजका सञ्चालकले कर्मचारीलाई तलब दिएको छैन् । उता महोत्तरीको बर्दिवासमा रिसोर्ट सञ्चालनमा ल्याउने क्रममा रहेको छ । कलेजका सञ्चालक पाण्डेले बर्दिबासमा बर्दिवास प्यालेस नामक रिसोर्ट खोल्न लागेको छ । यस्तै धनुषाको लालगढमा पनि उनले नर्सिङग कलेजको भव्य भवन तयार पनि गरिरहेको छ ।

कलेजमा भएको आम्दानी जति बाहिर लगानी गर्न थालेपछि कलेजको अवस्था धरासायी बन्दै गएको छ । सञ्चालनमा आउँदा नेपालमा आकर्षक मध्येका कलेज अहिले सिट घटुवादेखि विभिन्न समस्या झेल्दै आएको छ ।

शिक्षण अस्पताल रहेको यहाँ बिरामीहरु भरिभराउ हुन्थे । तर व्यवस्थापन पक्षको कमजोरीले अहिले सुनसान देखिन थालेको छ ।

एकजना कर्मचारी भन्छन्, ‘यहाँ ज्वरो लागेर जचाउन आयो कि डेङ्गीको रिपोर्ट थामाई दिने गरेका छन् । अनि दुई हजारको बिल त मिनेटमै थमाई दिन्छन् ।’

यस्तै कलेजको भवनको नक्सा नगरपालिकाबाट अहिलेसम्म भएको छैन् । यद्यपि यस विषयमा गम्भीर कुरा बाहिर आउने क्रममा रहेको समेत बुझिएको छ ।

यतिमात्रै होईन दुई दशकभन्दा बढिदेखि सञ्चालनमा रहेको कलेजलाई केही महिना अगाडी वन मन्त्रालय तथा मातहतका निकायले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए ईनभाईरोमेन्टल ईम्प्याक्ट एसिसमेन्ट) नगरेको भन्दै २५ लाख रुपैया जरिवाना लिएको बुझिएको छ । यस विषयमा थप जानकारी लिन खोज्दा कलेजका सञ्चालक तथा अध्यक्ष पाण्डेसँग सम्पर्कमा आउन चाहेनन् ।