
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा शनिबार साँझ ट्राफिक प्रहरीले हेल्मेट नलगाउने र मोटरसाइकलमा तीन जना सवार हुने चार जनामाथि कारबाही गरेको छ ।
ईलाका प्रहरी कार्यालय यदुकूहा र अस्थायी ट्राफिक प्रहरी पोष्ट यदुकुहाको संयुक्त टोलीले बेलुका ७ बजेदेखि राति ९ बजेसम्म शहिदनगर नगरपालिका–३ र ६ को सिमानामा पर्ने यदुकूहा–तिनकौरिया सडकखण्डमा चेकजाँच चलाएको थियो ।






ट्राफिक पोष्ट यदुकुहाका इन्चार्ज कृष्णानन्द सिंहका अनुसार ट्राफिक नियम उल्लंघन गरेको पाइएका चार मोटरसाइकल चालकलाई कारबाही गरिएको हो । बिना हेल्मेट र तीन जना सवार अवस्थामा भेटिएका चालकहरूलाई ट्राफिक नियमविपरीत सवारी सञ्चालन गरेको आधारमा आवश्यक कारबाही गरिएको छ ।
उनका अनुसार नियम उल्लंघन नगरे पनि सवारीसाधन चलाउने तरिकामा लापरवाही देखिएका करिब १०–१५ जनालाई भने चेतावनी दिई सम्झाइबुझाई गरी छाडिएको छ ।
रातिको समयमा दुर्घटनाको जोखिम उच्च हुने भएकाले चेकजाँचलाई कडाइका साथ अघि बढाएका छौं, सिंहले भने, सडक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता चेकजाँचलाई निरन्तरता दिइनेछ ।
प्रहरीका अनुसार स्थानीय स्तरमा जनचेतनाको अभाव, ट्राफिक नियमप्रति बेवास्ता र हेल्मेट नलगाउने तथा मोटरसाइकलमा तीन जना सवार हुने प्रवृत्तिका कारण सडक दुर्घटना बढ्ने गरेका छन् । ट्राफिक प्रहरीले यस्ता जोखिम न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रमसहित नियमित चेकजाँच अभियानलाई अगाडि बढाउने जनाएको छ ।