राजपा–समाजवादी एकीकरणको ‘मन्थन’, राजपाले आधिकारिक निर्णय गर्दै

फाइल फोटो

काठमाडौ १४ भदौ  : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणको प्रक्रिया अगाडि बढेको छ।

दुबै पार्टीले आफ्ना शिर्ष नेताहरुको बिचमा औपचारिक छलफल पनि अगाडि बढाएको छ।

दुबै पार्टीका नेताहरु एकीकरणका लागि सकारात्मक भएको र दशैंअघि नै एकीकरण घोषणा गर्ने पक्षमा रहेका छन्।

यसैबीच, राजपाको अध्यक्ष मण्डलको बैठक लामो समयपछि शुक्रबारदेखि बसेको छ। अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएपछि अध्यक्ष मण्डलको बैठक बसेको हो।

अध्यक्ष मण्डलको बैठक बसेपछि शनिबारका लागि बोलाइएको राजनीतिक समितिको बैठक अन्यौलमा परेको छ।

सत्तारुढ समाजवादी पार्टी नेपालसँगको एकीकरणका विषयमा राजपाभित्र संयोजक यादव र अनिल झा एकीकरणको विपक्षमा थिए भने महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र महेन्द्र यादव एकीकरणको पक्षमा थिए। जसकारण राजपामा विवाद चर्किदै गएको थियो।

विवाद बढ्न थालेपछि समाधानका लागि अध्यक्ष मण्डलको बैठक बसेको हो।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबारको बैठकमा पार्टी एकीकरणको चर्चासहित राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिएका छन्।

संयोजक यादवले एकीकरणको मोडालिटी तथा अहिलेसम्मको प्रगतिको विषयमा जानकारी दिने काम भएको बताए।

शुक्रबारको बैठकको एजेण्डामा बाढी पीडितलाई राहत, नागरिकता विधेयकका विषयमा पनि छलफल भएको उनले जनाए।

राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले एकीकरणको विषयमा बैठकमा औपचारिक रुपमै छलफल भएको जनाए।

पार्टीभित्र कुनै पनि विवाद नरहेको दाबी गर्दै भण्डारीले पार्टीले सबैलाई समेट्ने बताए।

स्रोतका अनुसार शुक्रबारको बैठकमा समाजवादी पार्टीसँग एकीकरणका लागि भएको विभिन्न प्रस्तावहरुमाथि पनि छलफल भएको छ।

जसमध्ये नेताहरुको वरियता र सांगठनिक संरचना लगायतको विषयमा पनि छलफल भएको हो। राजपाले यसै साता एकीकरणका विषयमा ठोस निर्णय लिने जनाइएको छ।