प्रमुख समाचार
काठमाडौं : प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन् ।
महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए । श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ ।
सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन् । ‘संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ । अरू केही गरेको होइन,’ झाँक्रीको बयान उदृत गर्दै एसएसपी थापाले भने।
‘बयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन । मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौं,’ उनले भने । प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो ।
झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन् ।