स्यालो ट्युबवेलका लागि कृषि ज्ञान केन्द्र धनुषामा किसानको भीड, मागभन्दा दोब्बर निवेदन

जनकपुरधाम । सिँचाइ अभाव र वर्षा नपरेको अवस्था झेलिरहेका धनुषाका किसान स्यालो ट्युबवेलका लागि आवेदन दिन कृषि ज्ञान केन्द्रमा भीडभाड गर्न थालेका छन् ।

भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत स्यालो ट्युबवेल जडानको लागि केन्द्रले आवेदन आह्वान गरेपछि करिब १ हजार १०० किसानले आवेदन दर्ता गराइसकेका छन् ।

बिज्ञापन

कृषि ज्ञान केन्द्र धनुषाका कृषि प्राविधिक गणेश अधिकारीका अनुसार स्यालो ट्युबवेल जडानका लागि कार्यालयसँग दुई सयको हाराहारीमा मात्रै बजेट रहेको छ । ‘तर, प्राप्त निवेदन संख्या यसका दोब्बर भइसकेको छ,’ अधिकारीले बताए ।

उनका अनुसार प्राप्त निवेदनहरूबाट मापदण्ड पुगेका किसान छनोट गरी खेतबारीमा ट्युबवेल जडान प्रक्रिया अघि बढाइनेछ । यस वर्ष पर्याप्त वर्षा नभएकाले किसान सिँचाइको विकल्प खोज्दै स्यालो ट्युबवेलतर्फ आकर्षित भएको अधिकारीको भनाइ छ ।

आवेदन दिने किसानहरू वर्षा अभावका कारण धान रोपाइँ प्रभावित भएको गुनासो गर्दै आएका छन् । सबैला नगरपालिकाका किसान श्यामबाबु यादवले भने, ‘सिँचाइ नहुँदा खेत सुख्खा छन् । धान रोप्न सकिएको छैन ।’

कृषि ज्ञान केन्द्रले साउन १२ गते सूचना जारी गरी सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । आवेदन दिन इच्छुक किसानले १० रुपैयाँको हुलाक टिकट टाँस गरिएको फारम, नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि तथा कित्ताको प्रमाणित नक्सा पेश गर्न भनेको छ ।

स्यालो ट्युबवेलका लागि यस वर्ष देखिएको उत्साहले किसानको सिँचाइमा रहेको समस्याप्रति राज्य गम्भीर हुनुपर्ने माग समेत उठ्न थालेको छ ।