धनुषा र सिरहा जोड्ने कमला नदीमा कात्तिक पूर्णिमा मेला

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा आज कात्तिक पूर्णिमा मेला लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा बुधबार बिहानैदेखि कमला नदीमा स्नान गर्न आएका श्रद्धालुको मेला लागेको हो ।

मंगलबार साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका छन् । कमलाको उत्तरवाहिनीमा धामी–झाँक्रीहरूले आजको दिन भूत, बैताल र कुलदेवताको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

बिज्ञापन

कात्तिक पूर्णिमाको दिन कमला नदीमा स्नान गरे भूत–प्रेत, बाधा–बिपत्ति र पापकर्मबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । नयाँ धामी–झाँक्रीले यसै दिन नदीमा स्नान गर्दा तान्त्रिक सिद्धि प्राप्त हुने विश्वास पनि छ ।

भारतका विभिन्न स्थानबाट समेत ट्याक्टर, बस र जीपमार्फत हजारौं श्रद्धालुहरू सहभागी हुन आएका छन् । आज बिहानैदेखि लाखौंको संख्यामा भक्तजनहरूले कमला नदीमा स्नान गरिरहेका छन् । स्नानपछि भक्तजनहरूले कमला नदीको शुद्ध पानी घरमा लगेपछि त्यसलाई जमिनमा छर्केर पूजा गर्ने चलन छ ।