
जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा अनियमितता गरेको आरोपमा नगरपालिकाका पूर्वमेयर रामउदगार गोईतसहित १० जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वमेयर गोईतसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदावी लिइएको छ ।




अख्तियारका अनुसार पूर्वमेयर गोईत, कमला नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल (पाँचौ) संजीव कुमार महतो र जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, नगरपालिकाका पूर्वकार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन तथा ठेकेदार इन्फ्रास्टक्चर एस एण्ड बी बिल्डर्स प्रालिका अध्यक्ष सन्तोष कुमार यादवलाई मुद्दामा प्रतिवादी बनाइएको छ । ठेक्का लगाउँदा सबैभन्दा कम कबोल गर्नेलाई नदिएर बढी कबोल गर्ने यादवको कम्पनीलाई मिलेमतोमा ठेक्का सुम्पिएको खुलेपछि बढी हुन आउने रकमलाई नै बिगो कायम गरिएको हो ।

पूर्वमेयर, अरु ३ कर्मचारी, कार्यपालिकाका ५ सदस्य र ठेकेदारलाई छुट्टाछुट्टै बिगो कायम गरिएको छ ।
आव २०७६/७७ का लागि आह्वान गरिएको ठेक्कामा ४२ लाख ७४ हजार ५५१ कबोल गर्नेलाई नदिएर ७२ लाख २१ हजार ६३० कबोल गर्ने यादवको कम्पनीलाई दिइएको थियो । त्यसपछि अख्तियारमा उजुरी परेकामा मिलेमतोमा अनियमितता भएको अनुसन्धानबाट खुलेको थियो ।
