मधेश प्रदेशमा रास्वपाको संगठन खडा गर्ने ई. तपेश्वर यादव, अब मन्त्री बन्ने चर्चा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति ई. तपेश्वर यादवले सिरहा–४ बाट प्रतिनिधि सभा निर्वाचन जित्दै पाँच जना पूर्वमन्त्रीस्तरका शक्तिशाली उम्मेदवारलाई पराजित गरेपछि उनको राजनीतिक भूमिका फेरि चर्चामा आएको छ । प्रतिस्पर्धी उम्मेदवारहरूको जमानतसमेत जफत हुने गरी आएको मत परिणामलाई राजनीतिक वृत्तमा ऐतिहासिक जितका रूपमा विश्लेषण गरिएको छ ।

यो जितलाई मधेश प्रदेशका मतदाताले नयाँ राजनीति, सुशासन र इमानदार नेतृत्वको पक्षमा दिएको स्पष्ट सन्देशका रूपमा हेरिएको छ । लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको क्षेत्रमा आएको यो परिणामलाई परिवर्तनको संकेतका रूपमा लिइएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

बिज्ञापन

पार्टी स्थापना भएको प्रारम्भिक समयदेखि नै ई. तपेश्वर यादव मधेश प्रदेशमा संगठन निर्माणमा सक्रिय रहँदै आएका थिए । सीमित स्रोत–साधनका बाबजुद उनले प्रदेशभरि पार्टीको संरचना विस्तार गर्ने, युवालाई राजनीतिमा आकर्षित गर्ने तथा मधेशका जनताका मुद्दा राष्ट्रिय स्तरमा उठाउने काममा महत्वपूर्ण भूमिका खेलेका थिए ।

धनुषाका जेनजी युवा मनिष यादवका अनुसार, मधेश प्रदेशमा रास्वपाको संगठन खडा गर्न ई. तपेश्वर यादवले खेलेको भूमिका निकै सराहनीय छ । उहाँले निरन्तर मेहनत गरेर युवालाई राजनीतिमा जोड्ने काम गर्नुभएको छ ।

पेशाले संरचना इन्जिनियर रहेका यादव भौतिक पूर्वाधार विकाससम्बन्धी विषयमा गहिरो ज्ञान र अनुभव राख्ने नेताका रूपमा चिनिन्छन् । मधेश प्रदेशको विकासका लागि सडक, पुल, भवन, सिंचाइ तथा शहरी पूर्वाधारमा दीर्घकालीन योजना आवश्यक रहेको अवस्थामा प्राविधिक ज्ञान भएको नेतृत्व आवश्यक रहेको जेनजी युवा मनिष यादवले बताए ।

यस्तै, अर्का जेनजी युवा किशन साहले आगामी मन्त्रिपरिषद गठनमा ई. तपेश्वर यादवलाई भौतिक पूर्वाधार वा विकाससँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइनु उपयुक्त हुने धारणा व्यक्त गरे । उनका अनुसार, मेहनत गरेर संगठन निर्माण गर्ने नेतालाई जिम्मेवारी दिँदा पार्टीभित्र योगदानको सम्मान हुन्छ र विकासको काम पनि प्रभावकारी हुन्छ ।

राजनीतिक वृत्तमा पनि ई. तपेश्वर यादवलाई आगामी मन्त्रिपरिषद्मा समावेश गरी उनको अनुभव, प्राविधिक दक्षता र नेतृत्व क्षमताको उपयोग गर्नुपर्ने चर्चा सुरु भएको छ । विश्लेषकहरूका अनुसार, यसले मधेश प्रदेश मात्र होइन, समग्र देशमा विकास र सुशासनको अभियानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।