केपी ओलीको रिहाइको माग गर्दै एमाले धनुषाको प्रदर्शन, जिप्रका अगाडि नाराबाजी

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले धनुषाले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको प्रदर्शनका क्रममा सरकारले राजनीतिक पूर्वाग्रह राख्दै विपक्षी नेतामाथि दमन गरेको आरोप लगाइएको छ ।

बिज्ञापन

प्रदर्शनकारीहरूले ‘लोकतन्त्रको रक्षा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाउँदै प्रशासन कार्यालय घेराउ गरेका थिए ।

त्यसक्रममा उनीहरूले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री तथा राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

एमाले धनुषाका अध्यक्ष भोला यादवले वर्तमान सरकारले विधिको शासनभन्दा पनि शक्ति प्रयोगमार्फत राजनीतिक प्रतिशोध साँध्ने काम गरिरहेको आरोप लगाए ।

‘पूर्वप्रधानमन्त्री जस्तो सम्मानित व्यक्तित्वलाई लक्षित गरी गरिएको कारबाहीले देशको लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाएको छ,’ उनले भने, ‘हामी तत्काल रिहाइको माग गर्दछौं ।’

ज्ञापनपत्रमा केपी शर्मा ओलीमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको दाबी गरिएको छ । साथै, न्यायिक प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्ने माग पनि गरिएको छ ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो । सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।

एमालेका कार्यकर्ताहरूले देशभर नै यस्ता विरोध कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन् । उनीहरूले सरकारलाई तत्काल आफ्ना निर्णयहरू सच्याउन आग्रह गर्दै अन्यथा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।