धनुषामा १ सय ३७ केजी गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा डिएसपी गणेश बहादुर बमको कमान्डमा खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका–६ लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि नियन्त्रणमा लिँदै उनीहरूलाई पक्राउ गरेको हो ।

बिज्ञापन

शुक्रबार बिहान विशेष सूचनाकै आधारमा उनीहरूको साथबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको कार्यालयका प्रवक्ता बमले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट ५ (पाँच) बोरामा १३७ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थपअनुसन्धान अघि बढाइएको जनाएको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ ।