प्रधानमन्त्रीसँग महिनाथपुर छोटी भन्सार पुनः सञ्चालन गर्न पूर्वमन्त्री अरगरियाको आग्रह

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने विदेह नगरपालिका–१ महिनाथपुरस्थित छोटी भन्सार पुनः सञ्चालन गर्न पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले सरकारसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूलाई सम्बोधन गर्दै अरगरियाले पञ्चायतकालदेखि सञ्चालनमा रहेको महिनाथपुर नाकाको नाम हाल राजपत्रमा समावेश नभएका कारण स्थानीयवासी समस्यामा परेको बताएका छन् ।

बिज्ञापन

उनका अनुसार विवाह, पारिवारिक भेटघाट तथा दैनिक आवतजावतका लागि स्थानीय नागरिकले अहिले २९ किलोमिटर टाढाको जटही नाका प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

नेपाल–भारतबीच रहेको रोटीबेटी सम्बन्धलाई सहज र सुदृढ बनाउन महिनाथपुर छोटी भन्सार पुनः कायम गरी छुट पुर्जीको व्यवस्था मिलाउन उनले सरकारसँग अनुरोध गरेका छन् ।

धनुषामा यसअघि महिनाथपुरमा छोटी भन्सार कायम रहेको थियो । पूर्वी धनुषाको जनकनन्दिनी १ इनरबामा छोटी भन्सार राख्दा बीचका सर्वसाधारणलाई समस्या भएको बताइएको छ । ईनरवा नाकामा सडक समेत नभएकोले छोटी भन्सारको औचित्य नरहेको बताइएको छ । महिनाथपुरमा छोटी भन्सार कायम गरे जनकपुरभन्दा पूर्वका सर्वसाधारणलाई पायक पर्ने भनिएको छ ।