प्रमुख समाचार
अप्पन समाचार जनकपुरधाम,१२ माघ । धनुषाको मिथिला विहारी नगरपालिका ८ का अतिविपन्न लखनदेव महराका परिवारलाई सामाजिक अभियन्ता सरोज कुमार मण्डलले सहयोग गरेका छन् ।महराको घरमै पुगेर अभियन्ता मण्डलले यूवाहरुको सहयोगमा लत्ताकपडा, खानेकुरा (अन्न), ग्यास र खाट सहयोग गरेका हुन्।
महरा अतिविपन्न रहेको भनेर फुसको भत्केको घर लगायतका तस्विरहरु फेसबुकमा सार्वजनिक भएको देखेपछि अभियन्ता मण्डलले सहयोग गरेका छन् ।खाना पकाउन पनि अप्ठ्यारो भइरहेका महरालाई ग्याँस खरिद गर्न अभियन्ता मण्डलले ५ हजार नगद सहयोग समेत गरे । सहयोग पाएपछि महरा परिवार खुःशी भएका छन् । उनको एक छोरा, श्रीमती र बुहारी छन् ।उनका छोराका पनि तीन सन्तान छन्।
जग्गा समेत नभएपछि उनले स्थानीय एक व्यक्तिको खेतमा काम गरेर जसोतसो गुजारा चलाउँछन् । छोरीको विवाह सयकडा ३ रुपैयामा १ लाख ऋण लिएर गरे । अहिले ति रकमको ब्याज चलिरहेको छ । घरमा कोही विरामी पर्दा उपचार गराउने अवस्था पनि उनको छैन ।
धनुषाकै औरही गाउँपालिका ५ चकर घर भएका अभियन्ता मण्डलले महरा परिवारका सदस्यले दिनमा खाएपछि राति भोकै बस्नुपर्ने अवस्था देखेर सहयोग गरेको बताए ।
उनले भने, ‘महराको घुसको घरमा खाट समेत थिएन । यतिधेरै चिसोमा भुइमा सुत्थे उनको परिवार । त्यसैले खाट पनि सहयोग गरेको छु ।’ उनले महराको घर बनाइदिने विषयमा साथीहरुसँग छलफल गरिरहेको पनि बताए ।