४० हजार घुस लिएको आरोपमा धनुषाबाट सशस्त्रका इन्स्पेक्टर पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी इन्स्पेक्टर ओकिल अधिकारी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ ।

बिज्ञापन

अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।