जनकपुरधाम । उच्च अदालत जनकपुरले सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा सुनुवाइ सुरु गरेको छ । जिल्ला अदालत धनुषाको निर्णयको विरुद्धमा उच्च अदालतमा मुद्दाको सुनुवाइ बुधबारबाट सुरु भएको हो ।
घटनाका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री संजय साहले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । बुधबारदेखि उच्च अदालत जनकपुरमा मुद्दाको सुनुवाइ सुरु भएको वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार ऊक्त मुद्दाको सुनुवाइ सोमबारसम्म हुनेछ । पूर्वराज्यमन्त्री साहलाई सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो ।
विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा साह राज्यमन्त्री रहेकै बेला सिंघानियाको हत्या भएको थियो । साहलाई सिंघानिया हत्या काण्डको मुख्य योजनाकार सावित गर्दै जन्मकैदको सजाय सुनाएको हो । साह अहिले ललितपुरस्थित नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
जनकपुर टुडे सञ्चार समुहका संस्थापक रहेका सिंघानियाको ०६६ साल फागुन १७ गते होली खेल्न गएका बेला साँझ जनकपुरधामको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।
साह धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो पटक सद्भावना पार्टीबाट निर्वाचित थिए ।
पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए। साह राज्यमन्त्री रहेकै बेला सिंघानियाको हत्या भएको थियो । उनी दोस्रो पटक संविधानसभा सदस्य रहेकै बेला पक्राउ परेका थिए ।
धनुषाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट उनलाई पक्राउ गरी ल्याएका थिए ।
हिमाल प्रेस