काठमाडौँ । काठमाडौँ तराइ मधेश फास्ट ट्रयाकको ठेक्कासम्बन्धी मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको भैसेपाटीका ४५ वर्षीय रवीन्द्र महर्जन छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुद्धनगरबाट सोमबार पक्राउ गरेको हो ।
फास्ट ट्रयाकको टेन्डरमा सहभागी हुने निर्णय उपर उच्च अदालत पाटनमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै उनले एक व्यक्तिसँग १ करोड २८ लाख लिएको पाइएको प्रहरीको भनाइ छ ।
रकम नदिए मुद्दा हराइदिने बताएपछि ती व्यक्तिले महर्जनलाई उक्त रकम बुझाएका प्रहरीले बताएको छ । उनीविरुद्ध ठगीको कसुरमा आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो ।