डोम समुदायको घर भत्काउने गाउँपालिका अध्यक्ष यादवसहित तीन जना फरार

सिरहा । सिरहाको औरही गाउँपालिका वडा नं–५ मा डोम समुदायको एक घर भत्काएका गाउँपालिका अध्यक्ष शिवजी यादव र यज्ञ आयोजना गर्न लागेका बाबा गाउँ छाडेर फरार भएका छन् ।

घटना सार्वजनिक भएपछि प्रशासनको टोली उनीहरूको खोजीमा गएकामा तीनै जना फरार भएको जानकारी प्राप्त भएको छ ।

बिज्ञापन

प्रशासनका अनुसार गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष र बजरंगी बाबाले एक डोम समुदायको घर भत्काएको र छुवाछुतको मुद्धामा संलग्न भएको आरोपमा पक्राउ गर्न खोजिएको थियो ।

१७ चैतदेखि आयोजना गर्न लागिएको विष्णु महायज्ञ स्थलमा रहेको डोम समुदायका दीपक मरिकको घर भत्काइएको थियो । यज्ञ आयोजक बजरंगी बाबाले अछूत डोम राख्न नहुने भन्दै मरिकको घर भत्काउन पालिका अध्यक्ष यादवलाई आदेश दिएका थिए । पालिका अध्यक्ष यादवले जेसिभी लगाएर उक्त घर भत्काउन लगाएका थिए ।

मरिकको घर भत्काएर अछुतको माटो छुवाएको भन्दै उनको घरको छेउको दुई फिट माटो समेत खोँचेर फालिएको छ । यो घटनाले सामाजिक छुवाछुत र जातीय भेदभावको गम्भीर समस्या उत्पन्न गरेको स्थानीयको भनाइ छ ।

सञ्चारमाध्यममा यो घटना बाहिर आएपछि तीनै जनाविरुद्ध किटानी जाहेरी दिने तयारी गरिएको छ । प्रशासनले यस प्रकरणमा कडा कारवाही गर्ने प्रतिबद्धता जनाउँदै फरार तीनै जनाको खोजी तीव्र पारेको छ ।