जनकपुरधाम । जनकपुरधामको गंगासागर डीलमा निर्माण हुन लागेको नेपाली कांग्रेसका दिवगंत नेता स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण गर्न गुठी संस्थान जनकपुरधामले अनुमति दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ र ४ को बीचमा पर्ने गंगासागर पोखरीको पूर्वीडीलमा निर्माणधीन रामनारायण मिश्र स्मारक संरचना पोखरी क्षेत्रमा असर नपर्ने सर्तसहित अगाडि बढाउन गुठी संस्थान जनकपुरधामले निर्देशन दिएको छ ।
यस विषयमा रामनारायण मिश्र स्मारक समितिबाट प्राप्त कागजातहरूमाथि मूल्यांकन गरेपछि गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले सो निर्देशन दिएको हो । यसअघि गुठीले स्मारक निर्माण समितिलाई संरचना निर्माण रोक्न अनुरोध गरेको थियो । तर, समितिले पुनः प्रतिउत्तर पठाउँदै आवश्यक सबै प्रमाणसहितको विवरण पेश गरेपछि गुठीले संरचना निर्माणका लागि स्विकृति दिएको छ ।
समितिले आफ्नो प्रतिउत्तरमा जनकपुरधाम उपमहानगरपालिकाबाट प्राप्त प्रथम चरणको निर्माण इजाजतपत्र र भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट श्रेस्ता कायम भएको जग्गाको प्रमाणस्वरूप जग्गाधनी दर्ता प्रमाण–पत्र (पुर्जा) प्रमाणको रुपमा पेश गरेको थियो । यी प्रमाणहरूका आधारमा निर्माण कार्य नियमानुसार रहेको जनाउँदै गुठी संस्थानले कानुनी मापदण्डको पालना गर्नुपर्ने शर्तसहित स्मारक निर्माणको अनुमति दिएको छ ।
स्मारक संरचना गंगासागर पोखरी क्षेत्रसँग प्रत्यक्ष संलग्न हुने गरी निर्माण नगर्न आग्रह गरिएको छ । पोखरी क्षेत्रको संरक्षण, सौन्दर्य र ऐतिहासिक महत्वलाई ख्याल गर्दै निर्माण कार्य अगाडि बढाइनुपर्ने गुठीको निर्देशन छ । कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले प्रचलित कानूनको मापदण्ड अनुसार गंगासागर पोखरीमा असर नपर्ने गरी मात्र निर्माण कार्य गर्न अनुरोध गरेका छन् ।