जनकपुरधाम । मधेश प्रदेशका एमाले सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बित भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकामा १५ शैय्या अस्पताल निर्माण सम्बन्धी ठेक्का प्रक्रिया चलाउँदा सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लंघन गर्दै ठूलो मात्रामा अनियमितता गरिएको ठहर गर्दै ठाकुरसहित सरोकारवालामाथि मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार, औरही गाउँपालिका–२, देउरी परवाहामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममार्फत रु. २४ करोड ४३ लाख ५२ हजार ६५० को लागत अनुमानमा निर्माण गर्न लागिएको १५ शैय्या अस्पतालका लागि बोलपत्र आह्वान गर्दा प्रक्रिया बदनियतपूर्ण तरिकाले परिवर्तन गरिएको थियो ।
२०७८ सालको सुरुवातमा प्रकाशित बोलपत्रमा Key Activities संशोधन गरी बोलपत्रदातालाई अनावश्यकरुपमा सिमित गराइएको थियो । त्यसअनुसार, एउटा मात्र अस्पताल निर्माण गरेको अनुभव भएका, साथै M35 Interlock with Multicobble in Multicolour का ५१०० वर्गमिटर काम गरेको ठेक्काको अनुभव भएको कम्पनी मात्र सहभागी हुन सक्ने प्रावधान राखिएको थियो ।
यसका कारण १५ मध्ये १३ वटा बोलपत्रदाता प्राविधिक मूल्याङ्कनमा अयोग्य घोषित भएका थिए । बाँकी दुई कम्पनी— लुम्बिनी/डी.एण्ड.एन. जेभी र समानन्तर/बबुल जेभी—ले म्याद थपको अन्तिम दिन मात्रै बोलपत्र दर्ता गरेका थिए । यसरी म्याद थप र Key Activities मा गरिएको संशोधनले प्रतिस्पर्धालाई कृत्रिमरूपमा सीमित बनाएको र छनोट प्रक्रियामा पारदर्शिता नदेखिएको उजुरीपछि अनुसन्धान थालिएको हो ।
सबैभन्दा कम दर रु.१२,३५,५०,२४८.८५ पेश गरेको प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्याङ्कनमा असफल घोषित गर्दै रु.१९,१४,६२,६३२.८३ कबोल गर्ने लुम्बिनी/डी.एण्ड.एन. जेभीलाई ठेक्का दिइएको थियो ।
यसरी करिब ६ करोड रुपैयाँ महंगो प्रस्तावलाई छनोट गरिएको ठहर गरिएको छ । यो प्रकरणमा सांसद ठाकुरले ठेक्का प्रक्रियामा प्रभाव र मिलेमतो गरेको प्रमाणित भएको अख्तियारको दाबी छ ।
सांसद पद निलम्बनसँगै ठाकुरले आफ्नो पदमुक्तिको कानुनी प्रक्रिया सुरु गर्ने संकेत दिएका छन् । तर, सार्वजनिक रकमको दुरुपयोग र बोलपत्र प्रक्रियामा हस्तक्षेपको यो मुद्दा मधेश प्रदेशमै ठूलो भ्रष्टाचार काण्डका रूपमा हेरिएको छ ।
ठाकुर धनुषा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित हुन् ।