काठमाडौँ । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोईतले अवकाश पाएका छन् । तीन दशक लामो सेवा अवधि पूरा गरी बुधबारबाट उनी अनिवार्य अवकाशमा गएका हुन् । निगमले बुधबार विशेष कार्यक्रम आयोजना गर्दै गोईतको बिदाइ गर्यो ।
२०५२ साल जेठ १ गते सातौँ तहको इन्जिनियरबाट निगममा प्रवेश गरेका थिए । उनी ११ औँ तहको नायव कार्यकारी निर्देशक पदबाट बिदा भएका हुन् । ३० वर्ष १ महिना ४ दिनको सेवा अवधिमा उनले अधिकांश समय निगमको आपूर्ति व्यवस्थापनमा बिताए ।
आफ्नो कार्यकालको सबैभन्दा ठुलो सन्तुष्टि पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउनु रहेको उनको भनाइ छ । ‘पछिल्लो १० वर्षमा विशेष कारणबाहेक कहिल्यै पनि आपूर्तिमा व्यवधान खडा हुन दिएनौँ,’ उनले भने, ‘काठमाडौँ जस्तो ठाउँमा एक दिन आपूर्ति रोकिँदा त्यसको असर पाँच दिनसम्म पर्छ, त्यसैले हामीले भण्डारण क्षमता कम हुँदा पनि टिमवर्कबाट आपूर्ति सहज बनायौँ ।’
बिदाइ कार्यक्रममा निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, आपूर्ति वितरण विभागका पूर्ण रिजाल निगमका ट्रेड युनियनका युनियनका नेताहरू लगायतले गोईतले आफ्नो कार्यकालमा निगमको महत्त्वपूर्ण उपलब्धिका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
बिदाइ कार्यक्रममा वक्ताहरूले आफूप्रति गरेको प्रशंसाले कार्यकालको वास्तविक सम्पत्ति आज मात्र कमाएको महसुस भएको उनी बताउँछन् ।
‘उहाँहरूले मैले गरेका कामहरू सम्झाउँदा मलाई यति खुसी लाग्यो कि मैले वास्तवमै निगममा ठुलो सम्पत्ति कमाएको रहेछु,’ गोइतले भावुक हुँदै भने, ‘यो सम्पत्ति भनेको सबैको साथ र सहानुभूति हो, त्यही मेरो लागि सबैभन्दा ठुलो कुरा हो ।’
निगमको सञ्चालक समितिले २०६६ सालमा गोईतलाई ‘सर्वोत्कृष्ट कर्मचारी’ समेत घोषणा गरेको थियो । त्यसबेला उनलाई प्रमाणपत्रका साथै निगमलाई बचत गराएको रकमको ०.१ प्रतिशतले हुन आउने ५६ हजार ७०० रुपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो ।
आफ्नो तीन दशकको सेवामा यो एउटा महत्त्वपूर्ण क्षण रहेको उनको स्मरण छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले समेत केही दिनअघि उनको बिदाइमा कार्यक्रम आयोजना गरेको थियो ।
भारतको दिल्ली र मुम्बईमा समेत कार्यक्रम गर्दै उनलाई बिदा गरिएको हो । निगमका कर्मचारीलाई आईओसीले भारतमै बोलाएर बिदाइ गर्नुलाई निगमका अधिकारीहरू ‘महत्त्वपूर्ण’ भएको बताउँछन् ।
पछिल्लो दशकमा निगमले सम्पन्न गरेका पाइपलाइन तथा भण्डारण परियोजनामा उनको महत्त्वपूर्ण भूमिका थियो । यी परियोजनालाई उनी आफ्नो महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । यद्यपि सबैको साथ र प्रयासले मात्रै यो सम्भव भएको उनको भनाइ छ ।
निगमको आगामी यात्रामा पनि आईओसी र अन्य सरोकारवालाहरूसँग निरन्तर र बलियो समन्वयलाई ध्यान दिनुपर्ने उनको सुझाव छ ।
निगम आफैँ केही होइन, एउटा समन्वयकर्ता मात्रै हो । निगमले आईओसीबाट तेल ल्याउँछ । ल्याउने सवारी साधन पनि निजी क्षेत्रको छ । वितरण गर्ने डिलर पनि हाम्रो छैन । त्यसैले हामी आपूर्ति प्रणालीको समन्वयकर्ता मात्रै हौँ,’ गोईत भन्छन्, ‘त्यसैले समन्वयलाई ध्यान दिनुपर्छ । निगमको हितमा सकारात्मक सोचका साथ अघि बढ्ने हो भने सबै काम सम्भव छ ।’