2024-04-26

Close

अप्पन समाचार,माघ १ जनकपुरधाम । आज माघे सङ्क्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात क्रमशः छोटो हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।यसैले आजकोदिन देवघाट,त्रिशूली,कालीगण्डकी,वाग्मती,कमला,गंगासागर,इन्द्रावती,त्रिवेणी,रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । बिहानैदेखि स्नान गर्ने र मेला भर्नेको घुइँचो लागेको छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज भने अनिवार्य नुहाउनु पर्ने मान्यता राख्छन् ।

माघे सङ्क्रान्तिका दिन घ्यू,चाकु, तिलका परिकार, तरुल, पालुङ्गो,खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । जाडाे माैसममा शरीर न्यानाे पार्ने परिकार खानुलाई वैज्ञानिक पक्षसँग पनि जाेडेर हेर्ने गरिन्छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेलले मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेदको शास्त्रीय मान्यता छ ।  साथै आज प्रदेश नम्बर २ सरकारले सार्वजनिक विदा दिइएको छ ।

माघी पर्व

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गइ स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गइ गच्छेअनुसार दीन दुःखीलाई दान गर्ने चलन छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ, त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ ।

तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गइ जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनाेट गर्छन् । सहमति नहुने ठाउँमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ ।

राष्ट्रपति, प्रधानमन्त्री प्रदेश २ का मुख्यमन्त्री बाट शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाइ राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नु भएको छ ।

मकर सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो देशलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नु भएको छ ।

माघीपर्वका अवसरमा उहाँले दिनु भएको सन्देशमा भनिएको छ, ‘हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पुर्‍याएको मैले विश्वास लिएको छु ।’

माघी पर्वलाई थारु समुदायबाट नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाउने गरिन्छ । यो पर्व स्नान, दान, पूजार्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन  छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।
यस्तै प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो देशलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नु भएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रूपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नु पर्नेमा जोड दिनु भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds