जनकपुरधाम । कायापलट (Kayapalat) को आयोजनामा “लोकतान्त्रिक जवाफदेहिताका लागि युवा आवाज” मूल विषयमा केन्द्रित आर्टिभिजम कार्यक्रम जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ । लोकतन्त्र, नागरिक जिम्मेवारी र सरकारको जवाफदेहितालाई कलात्मक र संवादमूलक माध्यमबाट उजागर गर्न आयोजित कार्यक्रममा युवा सहभागिता उल्लेखनीय देखिएको थियो ।
कार्यक्रमको उद्देश्य सामाजिक अन्याय, सरकारको बेवास्ता र जनताको दुःखलाई कला र सार्वजनिक संवादमार्फत उजागर गर्नु रहेको आयोजकले बताए ।कार्यक्रममा दुईवटा प्रमुख संवाद सत्र सञ्चालन गरिएको थियो। पहिलो सत्र लोकतन्त्र: सवालै सवाल, जवाफदेहिता कसको? भन्ने विषयमा केन्द्रित थियो । यस सत्रमा एमाले मधेश प्रदेशकी सांसद एवं पूर्वराज्य मन्त्री शारदा देवी थापा, राजनीतिक विश्लेषक रोशन जनकपुरी, र एकाउन्टबिलिटी ल्याब नेपालकी कार्यक्रम प्रबन्धक शुभेच्छा चापागाईं वक्ताका रूपमा सहभागी थिए । सत्रको सहजकर्ताको भूमिका कान्तिपुर दैनिकका पत्रकार कमलेश ठाकुरले निर्वाह गरे ।
दोस्रो सत्र “Gen Z काे नजरमा लोकतन्त्र” मा युवा दृष्टिकोणलाई प्राथमिकता दिइएको थियो । यस सत्रमा राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साह, अनुसन्धानकर्ता चाँदनी साह, युवा पत्रकार रोहित महतो वक्ता थिए भने पत्रकार दिवाकर उप्रेतीले सत्र संचालन गरे ।
कार्यक्रममा अनुहार चित्रकला, लोकतन्त्रसम्बन्धी भित्ते कला, अखबार कटिङ प्रदर्शनी लगायतका विविध कलात्मक गतिविधिहरू प्रस्तुत गरिएका थिए । यि गतिविधिहरूले जनचासोका सवाललाई दृश्यात्मक रूपले प्रस्तुत गरे, जसले सहभागीहरूलाई भावनात्मक र वैचारिक रूपमा जोड्ने काम गर्यो । आयोजक कायापलटका अनुसार यस कार्यक्रममार्फत युवालाई लोकतन्त्रप्रति सचेत, उत्तरदायी र अभिव्यक्तिमूलक बनाउने प्रयास गरिएको हो । युवाहरूको सिर्जनात्मक अभिव्यक्तिलाई मंच प्रदान गर्दै लोकतान्त्रिक जवाफदेहिताको आन्दोलनलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।
कला र संवादको समिश्रणबाट लोकतन्त्रको सवाल उठाउने यो कार्यक्रम जनकपुरधाममा प्रभावशाली रूपमा सम्पन्न भएको छ । यसले युवाहरूको सक्रियता र चेतनशीलतालाई उजागर गर्नुका साथै उत्तरदायी शासनप्रणालीको मागलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । कार्यक्रममा विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, कलाकार र सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।