
काठमाडौं । अडियो काण्ड सार्वजनिक भएपछि मन्त्री पद गुमाएका सांसद राजकुमार गुप्तालाई नेकपा एमालेले निलम्बनकै अवस्थामा राखेको पाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहँदा कर्मचारीदेखि बिचौलियासम्मलाई कमिशन असुली गरेको उजुरीसँगै रकम मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा राजीनामा दिनुभएका गुप्तालाई एमालेले केन्द्रीय कमिटी बैठकमा समेत सहभागी नगराई निलम्बन जसरी राखेको हो ।




एमाले केन्द्रीय कमिटीको बहुचर्चित बैठक यही साउन ५ र ६ गते काठमाडौंमा बसे पनि भ्रष्टाचारको आरोप लागेको भन्दै सहभागी नगराइएको पर्साकै एक नेताले जनताटाइम्स डटकमलाई बताए । ‘भ्रष्टाचारको आरोप लागेको र मन्त्री निवासमै पैसा छाडेर गएको भन्ने स्वीकारोक्तिले योजनावद्ध रुपमै असुली धन्दामा लागेको देखियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र बयान पनि लिइरहेको छ । सोही कारण गुप्तालाई केन्द्रीय कमिटी बैठकमा सहभागी हुनबाटै रोक लगाइएको हो,’ ती नेताले भने । पर्साबाट निर्वाचित गुप्ता एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । गुप्ता बैठकमा सहभागी हुन खोजे पनि हाजिर गर्न नदिने जानकारी केन्द्रीय कार्यालयले दिएर नआउन भनेको स्रोतले बतायो ।
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          