
कृष्ण यादव
बिरगंज । यातायात व्यवस्था कार्यालय कलैयाले सवारी चालक अनुमति पत्रको परिक्षामा व्यापक अनियमितता गरेर फेल भएकालाई पास गराईरहेको सूचना प्राप्त भएको छ ।यातायात व्यवस्था कार्यालय कलैयाका हाकिम, कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा सवारी चालक अनुमति पत्रको ट्रायल र लिखित परिक्षामा फेल भएकालाई पास गराउदै आएका छन् । यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन आचार्य कार्यालयमा हाजिर भएदेखि नै लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरूबाट रकम असुली गरी उत्तीर्ण गराइरहेको आरोप लागेको छ । सेवाग्राहीको अनुसार अनुसार प्रमुख आचार्यको यश कार्यमा ट्रायल प्रमुख संतोष सिंह र लिखित प्रमुख मुकेश कुशवाहा र ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी निरीक्षक दिपक केसी रहेका छन् ।
आचार्यले खुलियाम रकम असुली गरि फेल भएकालाई पास गराउदै आएका छन् । आचार्याको विश्ववास पात्र रहेका रघुनन्दन साहले जिल्ला देखि मन्त्रालय सम्मको सेटिङ्ग मिलाउनको साथै पत्रकार सम्म मिलाउन जिम्मेवारी पाएका छन् ।




सेवाग्राहीहरूका अनुसार मोटरसाइकल लाइसेन्सका लागि १० हजारदेखि १५ हजार रुपैयाँ, चार पाङ्ग्रे सवारीका लागि १५ हजारदेखि २५ हजार रुपैयाँ, हेभी सवारी तथा मेसिनरी साधनका लागि २५ हजारदेखि ७० हजार रुपैयाँसम्म रकम लिई लिखित वा ट्रायल परीक्षामा फेल भएकाहरूलाई पास गराइने गरेको छ । पैसा बुझाएपछि कम्प्युटर प्रणालीमै पास देखिने गरी लाइसेन्स भेरिफिकेसन मिलाइने गरिएको एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका छन् । स्रोतका अनुसार ट्रायल सेन्टरमा जडान गरिएका सिसिटिभी क्यामेराका फुटेजसमेत आवश्यकताअनुसार सम्पादन गरी हटाइने गरिएको छ ।

आचार्यले आफ्ना विश्वासपात्र कर्मचारी, ट्रायल प्रमुख र बिचौलियाहरू परिचालन गरी खुलेआम घुस उठाउने कार्य गर्दै आएका छन् ।
केही दिन पहिला यातायात कार्यालयका तत्कालीन लिखित प्रमुख जीवन पौडेलले ठुलो भ्रष्टचारी गरेको आरोप लगाउदै सेवाग्राहीले कालो मोसो दलेको थियो । कालो मोसो दलपछि पौडेललाई जिम्मेवारी बिहिन गरेको छ भन्ने उनको ठाऊमा कुशवाहालाई जिम्मेवारी दिएका छन् । कुशवाहाले फेल भएकालाई लिखितको परिक्षामा पैसाको बलमा धमाधम पास गराउदै आएका छन् ।
लिखित परीक्षामा सेटिङ भएका परीक्षार्थीहरूलाई ५–६ वटा प्रश्नमा मात्र संकेत चिन्ह लगाउन लगाई बाँकी खाली छोडेपछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरूले नै उत्तर भरी पास गराउने गरिएको आरोप छ । प्रयोगात्मक परीक्षामा सेटिङ भएका परीक्षार्थीहरूका लागि प्रमुख आचार्यले व्यक्तिगत रूपमा खरिद गरेका मोटरसाइकल प्रयोग गरिने, दक्ष चालकलाई हेल्मेट र मास्क लगाएर अनुहार नदेखिने गरी ट्रायल दिन लगाइने गरेको स्रोतको दाबी छ ।
यसैगरी, ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी निरीक्षक दिपक केसी पनि यस अवैध धन्दामा संलग्न रहेको गम्भीर आरोप छ । उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक के.सीको ट्रायल सेन्टरमा उनको प्रभाव अत्यधिक रहेको कर्मचारीहरू बताउँछन् ।
नाम नछाप्ने सर्तमा एक कर्मचारी भन्छन्, “यातायात कार्यालयमा प्रमुखपछि सबैभन्दा ठूलो प्रभाव केसीको चल्ने गरेको छ । ट्रायल सेन्टरमा कसलाई पास गर्ने र कसलाई फेल गर्ने भन्ने निर्णय धेरै हदसम्म उनकै हातमा हुन्छ ।”
सेवाग्राहीहरूले पास भइसकेकाहरूलाई समेत फेल गराई पुनः रकम असुल्ने गरिएको गुनासो गरेका छन् । लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुने भएकाले उनीहरूको सहमतिविना कुनै काम अघि नबढ्ने आरोप छ । मधेश प्रदेश ट्राफिक प्रहरी नेतृत्व र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको मिलेमतोमा भ्रष्टाचार मौलाएको सेवाग्राहीहरूको भनाइ छ ।
यस बिषयमा प्रतिक्रिया लिन यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख आचार्यलाई फोन सम्पर्क गर्द मोबाइल स्विच अफ रहेकोले सम्पर्क हुन सकेनन् ।
यातायात व्यवस्था कार्यालय कलैयामा भईरहेको यस्तो गतिविधि तर्फ अख्तियारको ध्यान जान आवशयक देखिएको छ ।
