
जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालय, कार्यविभाग अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले आज जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँहरूले कार्यालय भवन, प्रशासनिक तथा प्राविधिक शाखाहरू, सेवा प्रवाहको अवस्था एवं कार्यालयको समग्र कार्यसम्पादनको अवलोकन गर्नुभएको थियो । साथै उपस्थित ट्राफिक प्रहरी कर्मचारीहरूलाई सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, संगठनात्मक अनुशासन, आचरण तथा व्यवहार लगायत समसामयिक विषयमा महत्वपूर्ण निर्देशन तथा सम्बोधन प्रदान गर्नुभएको थियो ।




सम्बोधनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक तिवारीले बढ्दो सवारी चाप र सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र नागरिक केन्द्रित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले ट्राफिक प्रहरी कर्मचारीहरूले सेवाभाव, अनुशासन र व्यावसायिकतालाई प्राथमिकतामा राखी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी प्रहरी उपरीक्षक बस्नेतले ट्राफिक व्यवस्थापन केवल नियम कार्यान्वयनमा सीमित नभई नागरिकसँगको समन्वय, सचेतना अभिवृद्धि तथा सुरक्षित सडक संस्कृतिको विकाससँग समेत जोडिएको विषय भएको उल्लेख गर्नुभयो । उहाँले आम नागरिकप्रति सकारात्मक व्यवहार, प्रभावकारी सेवा प्रवाह तथा दुर्घटना न्यूनीकरणमा केन्द्रित भई कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रमले ट्राफिक प्रहरी कर्मचारीहरूमा थप उत्साह, जिम्मेवारीबोध तथा व्यावसायिक क्षमता अभिवृद्धि हुने विश्वास लिइएको छ । साथै सडक सुरक्षालाई प्रभावकारी बनाउँदै नागरिकलाई सुरक्षित र सहज यातायात सेवा प्रदान गर्ने उद्देश्यमा कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
