2024-04-28

Close

जनकपुरधाम । धनुषाको उत्तरी क्षेत्रमा पानी स्रोत सुक्न थालेका छन् । सामान्यतया चैत वैशाखमा देखिने यस्तो समस्या यस वर्ष भने माघमै देखिन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयवासीको गुनासो छ ।

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोजकुमार महतोले माघमै पानीको स्रोत सुक्नु अनिष्टको सङ्केत भएको बताउनुभयो । उहाँले पनि सिँचाइ गर्न खनेको इनार सुकेपछि यसपालि तरकारी बाली लगाउन नपाइने चिन्तामा पर्नुभएको छ । मौसमी तरकारी तथा अन्न बाली उत्पादन गरेर प्रशस्त आम्दानी लिँदै आएको महतोले सिँचाइ अभावमा खेत बाँझो राख्नुपर्ने अवस्था आएको देखिएको बताउनुभयो ।

आम्दानीको मुख्य स्रोत तरकारी उत्पादन र अन्न बाली नै भएको बताउँदै उहाँले भन्नुभयो, “सिँचाइ गर्ने इनारमा पानी सुक्यो अब कसरी खेती गर्ने ? आकाशे पानीको पनि भर छैन । यस्तै अवस्था रहेमा भोकमरीको सामाना गर्नुपर्ने हुन्छ ।”

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतोले बटेश्वरमा रहेको देवकी माध्यमिक विद्यालय हाताभित्र भएको इनार सुकेपछि त्यहाँका विद्यार्थी र शिक्षक घरबाटै खानेपानी बोकेर ल्याउने गरेको बताउनुभयो । माघ पहिलो सातामै इनार सुकेको बताउँदै उहाँले अहिलेसम्म यस क्षेत्रमा ३० प्रतिशत पानीको स्रोत सुकिसकेको र आउँदा फागुन चैतसम्ममा ९० प्रतिशतसम्म सुक्ने जानकारी दिनुभयो । “माघ नबित्दै पानीको यस्तो समस्या छ,” उहाँले भन्नुभयो, “चैत वैशाखमा के होला सम्झेर डर लाग्छ ?,” यस क्षेत्रमा इनार र चापाकालबाट पानी खान सम्भव नभएकाले खानेपानीको दीर्घकालीन उपाय गर्न सङ्घीय सरकारसमक्ष प्रस्ताव लैजाने अध्यक्ष महतोले बताउनुभयो ।

मिथिला नगरपालिका–५, विश्रामपुरका विनोद महतोले पानी नपर्दा हिउँदे बाली पनि सुक्न थालेको गुनासो गर्नुभयो । पछिल्ला केही वर्षयता रातु, बडहरि, औरही, जलाद कमला नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेकाले जलाधार क्षेत्र सुक्न थालेको उहाँको बुझाइ छ ।

तराई क्षेत्रमा यस वर्ष हिउँदे वर्षा नभएकाले पानीको स्रोत सुक्न थालेको पर्यावरण संरक्षण अभियन्ता तथा मधेश प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “असोजको पहिलो सातायता पानी परेको छैन । साधारणतया असोजको पहिलो हप्ता मनसुन सकिने र कात्तिक वा मङ्सिरमा एक/दुई पटक पानी पर्ने चव्रm चल्दै आएको थियो तर यस वर्ष त्यो चव्रm दोहोरिएको छैन ।” नदी क्षेत्रमा बालुवा, ढुङ्गा उत्खनन गर्नेहरूले ठुला ठुला गहिरो खाडल बनाएका र चुरे क्षेत्रको जलाधार क्षेत्र मासिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर माघमै पानीको हाहाकार भएको वन अधिकृत शर्माको भनाइ छ ।

चुरेविद् डा. विजयकुमार सिंह दनुवारले जमिनमुनि पानीको सतह तल तल हुँदै गएकाले पानीको यस्तो समस्या देखिएको बताउनुभयो । प्राकृतिक रूपमा चुरे क्षेत्र जल भण्डार भएको बताउँदै उहाँले चुरे भएर बग्ने नदीनालामा तटबन्ध निर्माण गरेर वर्षाको पानी चुरे क्षेत्रमै रोक्न सके भूमिगत जलस्तर बढ्ने जानकारी दिनुभयो ।

अव्यवस्थित सहरीकरण, वन फँडानी, नदीनालाबाट भइरहेको अनियन्त्रित गिट्टी, बालुवाको उत्खननका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर राख्न नसकेकाले भूमिगत पानीको सतह तल हुँदै गएको उहाँको भनाइ छ । चुरेविद् सिंहले भन्नुभयो, “प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोग गर्न नसके आठ÷दस वर्षपछि तराईमा पानी चरम अभाव भोग्नुपर्ने हुन्छ ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds