गाउँपालिकामा टिकटको आश्वासनपछि एमाले छोडेर फेरी काँग्रेसमै फर्किए संतोष यादव

जनकपुरधाम । नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (१) मा चुनाव लडेका संतोष यादव चार वर्षपछि पुनः नेपाली काँग्रेसमा फर्किएका छन् । गाउँपालिका अध्यक्षको टिकट दिने आश्वासन दिएपछि उनी फेरि काँग्रेस प्रवेश गरेका हुन् ।

२०७९ सालको निर्वाचनमा काँग्रेसबाट टिकट पाउने सुनिश्चितता नहुँदा यादव एमाले प्रवेश गरी चुनावी मैदानमा उत्रिएका थिए । अहिले भने फेरी टिकट व्यवस्थापनमै आश्वासन जनाएपछि उनी पुनः काँग्रेसमा फर्किएको बुझिएको छ । उनलाई नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । लक्ष्मीनियाँ गाउँपालिका ५ बनिनियाँका यादवलाई गाउँपालिका अध्यक्षको टिकट दिने आश्वासनपछि पुनः काँग्रेसमा आएका छन् ।

बिज्ञापन

उनी गत २ गते काँग्रेसमा प्रवेश गरेका हुन् । सहमहामन्त्री यादवको काठमाडौंस्थित निवासमा टिका थाप्दै उनी काँग्रेस भित्रिएको तस्बिरमा देखिएको काँग्रेसका एकजना नेता डा संजीव यादवले बताएका छन् ।

काँग्रेसमा फर्किएसँगै सामाजिक सञ्जालमा यादवलाई बधाई दिनेहरूको ओइरो लागेको छ । उनी लामो समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए । तर निर्वाचनअघि सम्पन्न धनुषा जिल्ला सभापतिको चुनावमा वर्तमान सभापति योगेन्द्र पजियारसँग पराजित भएपछि भएको चुनावमा हुने गठबन्धनमा टिकट नपाउने डरले उनी एमाले प्रवेश गरेका थिए । त्यसबेला नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले उनलाई पार्टी प्रवेश गराएका थिए ।

एमाले प्रवेशपछि भएको निर्वाचनमा यादवसँगै चुनावी मैदानमा उत्रिएका शेषनारायण यादव विजयी भएका थिए। शेषनारायण यादवलाई निर्वाचनको मुखमा सहमहामन्त्री यादवले पार्टी प्रवेश गराएर चुनाव जिताएका थिए।

त्यसबेला निर्वाचनको मुखैमा काँग्रेस छोडेर एमालेमा गएपछि काँग्रेसले नै अवसर दिने बेला उनी पार्टी छोडेर गएको आरोप समेत संतोष उपर लगाएका थिए।

उक्त चुनावमा काँग्रेसमा शेषनारायणसँग संतोष १ हजार ४४९ मतले पराजित भएका थिए। शेषनारायण १४ हजार ५५ र संतोषले १२ हजार ६०६ मत ल्याएका थिए।

यादवको काँग्रेस प्रवेशसँगै स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा पनि सुरु भएको छ। यसअघि गाउँपालिका अध्यक्षको टिकटकै आश्वासन दिएर सहमहामन्त्री यादवले लक्ष्मीनियाँ गाउँपालिकाका पूर्वअध्यक्ष विन्देश्वर यादवका छोरा डा. शत्रुधन यादवलाई काँग्रेस प्रवेश गराएका थिए। सोही आश्वासनमा अहिले संतोष यादवलाई पनि पार्टीमा भित्र्याइएपछि उक्त क्षेत्रमा राजनीतिक समीकरण थप रोचक बनेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका पूर्वअध्यक्ष विन्देश्वर यादवका छोरा डा. शत्रुधन यादवले २०७९ को निर्वाचनमा बुवाको राजनितिकमा बिराम लगाएर जागिर छोडेर अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। तर उनी काँग्रेसका भोगेन्द्र मिश्रसँग २६८ मतको अन्तरले पराजित भएका थिए। उक्त निर्वाचनमा मिश्रले ३ हजार ७६५ मत प्राप्त गर्दा डा. यादवले ३ हजार ४९७ मत ल्याएका थिए भने तेश्रो भएका एमालेका अजयकुमार यादवले ३ हजार ३७३ मत प्राप्त गरेका थिए।

यस स्थानीय तह तथा निर्वाचन क्षेत्रमा काँग्रेसलाई आगामी निर्वाचनमा टिकट व्यवस्थापन निकै चुनौतीपूर्ण हुने पार्टीकै एक नेताले बताए। उनका अनुसार, “सिनियर नेताहरू पुराना नेताहरूलाई पार्टीमा फर्काएर संगठन मजबुत बनाउने प्रयासमा हुनुहुन्छ। अब राजनीतिले कस्तो मोड लिन्छ, हेर्न बाँकी छ।”

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा काँग्रेस मबजुत मानिने नेपाली काँग्रेस आन्तरिक गुट–उपगुट र टिकट व्यवस्थापनकै कारण पटक–पटक निर्वाचनमा हार व्यहोर्दै आएका छन्।

यस विषयमा सहमहामन्त्री यादव र पार्टी प्रवेश गरेका नेता यादवसँग विस्तृत बुझ्न खोज्दा सम्पर्क हुन सकेन्।

यता पूर्वमन्त्री शेषनारायण यादवका प्रमुख स्वकीय घनश्याम यादवले काँग्रेस प्रवेश गरेका यादवसँग गाउँपालिकाको टिकटको आश्वासन नदिइएको बताउँछन्। उनी भन्छन्, नेकपा एमालेमा उहाँलाई सम्मान नभेट्दा फेरी उहाँ काँग्रेसमा फर्किनुभएको छ। भर्खरै सम्पन्न नेकपा एमालेको ११औं महाधिवेशनमा प्रतिनिधि समेत राखेन। पुराना एवं अनुभवी नेतालाई एमाले पार्टीले मान सम्मान नदिदा उहाँले फेरी आफ्नै घरमा फर्किनुभएको छ, प्रमुख स्वीकय यादवले भने। गाउँपालिका टिकट भन्दा पनि उहाँप्रति काँग्रेस पार्टी सकारात्मक रहेको यादवको भनाइ छ।